सुनसरी, ९ मङ्सिर — जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते काठमाडौंस्थित महानगरीय प्रहरी परिसरमा तोडफोड, आगजनी र हातहतियार लुटपाट कार्यमा संलग्न तीन जनालाई प्रहरीले दुई थान चाइना चेक पेस्तोल र २० राउन्ड गोली सहित पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख एसएसपी दिपक पोखरेलका अनुसार झापा र इलामका विभिन्न स्थानबाट विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
दमक–८ का सरोज पुरीलाई इलाका प्रहरी कार्यालय दमक र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले १ थान पेस्तोल र १५ राउन्ड गोलीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा पुरीले लुटिएको अर्को पेस्तोल दमक–६ का विश्व लिङ्देनलाई दिएको खुल्न आएको छ। लिङ्देनले उक्त हतियार इलाम चुलाचुली–४ का पवन हाङ्सुरुम्बालाई लुकाइ राख्न दिएको प्रहरीले जनाएको हो।
बिशेष सूचनाको आधारमा प्रहरीले इलामको चुलाचुलीस्थित बारीमा खाल्डो खनेर लुकाइ राखिएको अवस्थामा पवनलाई समेत १ थान पेस्तोल र ५ राउन्ड गोली सहित पक्राउ गरेको जनाएको छ। पक्राउ परेकाहरूमाथि हातहतियार ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको एसएसपी पोखरेलले जानकारी दिए।