आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News एमसीसी परियोजनामा अमेरिकाबाट थप ५ करोड अमेरिकी डलर अनुदान

एमसीसी परियोजनामा अमेरिकाबाट थप ५ करोड अमेरिकी डलर अनुदान

119

काठमाडौँ, ३ कार्तिक — नेपाल–अमेरिका बीच ऊर्जा तथा पूर्वाधार विकासमा केन्द्रीत मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनामा अमेरिकाले आर्थिक सहायता वृद्धि गरेको छ। नयाँ समझदारी अनुसार अमेरिकाले परियोजनाका लागि थप ५ करोड अमेरिकी डलर करिब ७ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने घोषणा गरेको नेपाल सरकारका अधिकारीहरूले बताएका छन्।

यससँगै एमसीसी सम्झौता अन्तर्गत परिचालन हुने कुल बजेट ७४ करोड ७० लाख अमेरिकी डलर करिब १ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ। नयाँ संरचनाअनुसार, अमेरिकी अनुदानको हिस्सा ५५ करोड डलर हुनेछ भने नेपाल सरकारले १९ करोड ७० लाख डलर बराबरको योगदान गर्नेछ।

सरकारका अनुसार, थपिएको वित्तीय सहयोगले नेपालले प्राथमिकतामा राखेका विद्युत् प्रसारण लाइन निर्माण, उच्च क्षमताका सब–स्टेसनहरू, तथा मुख्य सडक खण्डहरूको मर्मत–सम्भार जस्ता कार्यलाई निर्धारित समयमै सम्पन्न गर्न महत्वपूर्ण टेवा पुर्‍याउनेछ।

एमसीसी परियोजनाको प्रमुख उद्देश्य ऊर्जा प्रणाली सुदृढीकरण, अन्तरदेशीय ऊर्जा व्यापार विस्तार, तथा विद्युतीय ग्रिडको विश्वसनीयता वृद्धि गर्ने रहेको छ। परियोजनाबाट बजार पहुँचमा सुधार आउने, ऊर्जा ‘कनेक्टिभिटी’ बलियो बन्ने तथा नेपालको समग्र आर्थिक क्रियाकलापमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। नेपाल र अमेरिका बीच आर्थिक वृद्धि, ऊर्जा सुरक्षा, तथा दीर्घकालीन समृद्धि प्रवद्र्धनका लागि लामो समयदेखि सहकार्य हुँदै आएको छ।