काठमाडौँ, २ मङ्सिर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले जेनजी आन्दोलनका क्रममा २४ भदौमा देशभर देखा परेको विध्वंसलाई ‘प्रतिगामी र सुनियोजित’ भन्दै ती घटनाहरू राजनीतिक नेतृत्वको कमजोरीकै परिणाम भएको टिप्पणी गरेका छन्। डा. यादव ले भने जेनजी आन्दोलन सुरु भएदेखि नै सरकारले आवश्यक संवेदनशीलता नदेखाएको र समयमै उचित निर्णय नलिएकै कारण स्थिति बेकाबु भएको बताए।
उनका अनुसार २३ भदौमा १९ जना युवाको ज्यान जाने जस्तो दुखद घटना घटिसकेको अवस्थामा पनि सुरक्षा तयारी र राज्यको सूचनामूलक संयन्त्र प्रभावकारी देखिएन।“त्यो दिन घुसपैठ भयो भनेर भनिरहनुभएको छ। तर राज्य चलाउनेहरूले त्यसको पहिल्यै जानकारी पाउनुपर्थ्यो। जेनजीको आन्दोलनलाई हल्कै रूपमा लिइयो, यही नै मुख्य कमजोरी हो,” उनले सरकारमा रहेका तत्कालीन एमाले र कांग्रेस नेताहरूलाई संकेत गर्दै भने।
पूर्वराष्ट्रपति यादवले जेनजी युवाहरूले उठाएका सुशासन, रोजगारी, बेथितिको अन्त्य तथा सामाजिक सञ्जाल खोल्नेजस्ता मागहरू पूर्ण रूपमा जायज रहेको उल्लेख गरे। उनका अनुसार जेनजी आन्दोलनले अहिले पनि विद्यमान संविधानभित्रै समस्याको समाधान खोज्नुपर्ने धारणा राखेको छ, र उनी स्वयं पनि यही मार्ग सही रहेको पक्षमा छन्।
डा. यादवले राजनीतिक दलहरूलाई जनआवाजप्रति जिम्मेवार हुन, गलत निर्णयले उत्पन्न हुने जोखिमबारे सचेत रहन तथा युवाहरूका वैध मागहरूलाई संवेदनशीलतापूर्वक सम्बोधन गर्न आग्रह गरेका छन्।