काठमाडौं, २ मङ्सिर – दुर्गा प्रसाईंलाई प्रहरीले मध्यराति पक्राउ गरेको विरोधमा नागरिक बचाउ दलले आज (मंगलबार) बाट नै देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। दलले यसअघि मंसिर ७ गतेदेखि प्रदर्शन गर्ने योजना सार्वजनिक गरेको थियो, तर प्रसाईंको गिरफ्तारीलाई “अपहरण शैलीको गिरफ्तारी” भन्दै कार्यतालिका अगाडि सारिएको जनाएको छ।
नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङका अनुसार “हाम्रा नेता दुर्गा प्रसाईंलाई मध्यराति अपहरण शैलीमा पक्राउ गरेर सरकारले शान्ति भंग गरेको छ। त्यसैले हामी मंसिर ७ गते नपर्खिकन आजैदेखि आन्दोलनमा उत्रिनेछौं।” प्रसाईंलाई सोमबार राति भक्तपुरस्थित निवासबाट जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो। हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशमा छुटेका थिए।
राजावादी गतिविधिसँग जोडिएका प्रसाईं बैंक ऋण मिनाहा लगायतका मागसहित मंसिर ७ गतेदेखि व्यापक आन्दोलनको तयारीमा थिए। तर उनी पक्राउ परेपछि नागरिक बचाउ दलले “सरकार दमनतर्फ उन्मुख भएको” आरोप लगाएको छ। महामन्त्री थाम्सुहाङका अनुसार आन्दोलनको पहिलो चरणमा आजै जिल्ला प्रशासन कार्यालय (सीडीओ) मार्फत ध्यानाकर्षणपत्र बुझाइने छ। उनले भने, “हामी दल दर्ता गरेर शान्तिपूर्ण रूपमै निर्वाचनतर्फ जाँदै थियौं। तर सरकारले नै शान्ति भंग गर्यो।” थाम्सुहाङले प्रसाईंलाई “तत्काल, विना सर्त र ससम्मान” रिहा गर्न माग गर्दै चेतावनी दिए, “अन्यथा यो सरकारको अन्त्य हामीले सडकमै देखाउनेछौं।”