काठमाडौं, १ मङ्सिर — ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलमार्फत जारी रेड नोटिसका फरार प्रतिवादी रौतहट, कटहरिया नगरपालिका–१ का आकाश प्रसाद कुशवाहा पक्राउ परेका छन्। उनी एनसिबि क्वालालम्पुरको समन्वयमा मलेसियामा पक्राउ परेपछि शनिबार नेपाल फिर्ता ल्याइएको नेपाल प्रहरी इन्टरपोल शाखाले जनाएको छ।
कुशवाहा उक्त मुद्दामा संलग्न रहेर फरार भएका कारण नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखाले अन्तर्राष्ट्रिय तहमा खोजतलास तथा पक्राउको अनुरोध गरेको थियो। सोही अनुरोधका आधारमा इन्टरपोल महासचिवालयले २०८० मंसिर २१ गते उनलाई लक्षित गर्दै रेड नोटिस जारी गरेको थियो।
नेपाल फिर्ता ल्याइएपछि कुशवाहालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटबाट खटिएको टोलीलाई बुझाइएको इन्टरपोल शाखाले जनाएको छ। प्रहरीका अनुसार अब उनीमाथि सम्बन्धित मुद्दामा थप कानूनी प्रक्रिया अघि बढाइनेछ।