काठमाडौं, १७ कात्तिक — भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएको घटनाबारे जाँचबुझ आयोगले बयानका लागि बोलाउन सक्ने भन्दै नेपाल प्रहरीले आन्दोलनको बेला फिल्डमा खटिएका प्रहरी इन्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ।
प्रहरी मुख्यालयले उपत्यका प्रहरी कार्यालयलाई पत्राचार गर्दै आन्दोलनका क्रममा सबैभन्दा बढी क्षति पुगेका क्षेत्रहरूमा खटिएका इन्चार्जहरूलाई कुनै पनि बेला आयोगमा उपस्थित हुनुपर्ने हुनाले उनीहरूलाई उपत्यकाबाहिर नजान व्यवस्था मिलाउन निर्देशन दिएको हो।
मुख्यालयको अनुसार, जाँचबुझ आयोगले आन्दोलनका क्रममा प्रहरीको आदेश, प्रयोग गरिएको बल, र त्यसबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गरिरहेको छ। सो क्रममा तत्कालीन फिल्ड इन्चार्जहरूको बयान आवश्यक पर्ने भएकाले उनीहरूलाई उपलब्ध गराउन तयारी गर्न भनिएको हो।
जेन–जी आन्दोलनका क्रममा काठमाडौंसहित देशका विभिन्न स्थानमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा ७६ जनाको मृत्यु र हजारौ घाइते भएका थिए। सो घटनापछि सरकारले स्वतन्त्र जाँचबुझ आयोग गठन गरेको थियो। प्रहरी स्रोतका अनुसार, आयोगले छिट्टै घटनामा संलग्न प्रहरी अधिकृतहरूलाई औपचारिक बयानका लागि बोलाउने तयारी गरिरहेको छ।