आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News मधेसमा गोवर्धन पूजा तथा गोधन कुट्ने पर्व उल्लासपूर्वक मनाइदै

मधेसमा गोवर्धन पूजा तथा गोधन कुट्ने पर्व उल्लासपूर्वक मनाइदै

94

५ कात्तिक, वीरगंज ।

मधेसका विभिन्न जिल्लामा आज गोवर्धन पूजा तथा गोधन कुट्ने पर्व श्रद्धा, भक्ति र उल्लासका साथ मनाइएको छ। विशेषगरी धनुषा, महोत्तरी, पर्सा, सिरहा, सर्लाही र सप्तरी लगायत मिथिला क्षेत्रका जिल्लाहरूमा महिलाहरूको सामूहिक सहभागितासहित टोल–टोलमा धार्मिक र सांस्कृतिक परम्परा अनुसार गोधन कुट्ने पर्व मनाइन्छ ।

हिन्दू परम्परा अनुसार गोवर्धन पूजा कार्तिक महिनाको पाँचौँ दिन मनाइन्छ। यस दिन महिलाहरू बिहानै नुहाएर घर–घर र टोल–टोलमा भेला भई गोबर, माटो र केराउको दानाबाट गोवर्धन पर्वत र गोधनको प्रतीकात्मक स्वरूप तयार गरी पूजा गर्ने गर्छन्।

पर्वको अवसरमा महिलाहरूले सामूहिक रूपमा गीत गाउने, नाच्ने र मिठा परिकार बनाएर वितरण गर्ने परम्परा रहेको छ। परम्परागत संस्कृतिको झ झल्को दिने यो पर्वले सामाजिक एकता, सहकार्य र श्रद्धाको सन्देश फैलाउने गर्दछ।  यस दिन दिदीबहिनीले बजरी (गोधनबाट निकालिएको केराउका दाना) खुवाएपछि दाजुभाइले दिदीबहिनीलाई कोसेली दिने चलन रहेको छ ।

पर्साका वीरगंज, सर्लाहीको मलंगवा, धनुषाको जनकपुर लगायतका शहरमा बिहानैदेखि महिलाहरूको उत्साहपूर्ण सहभागिता देखिएको छ। स्थानीय समुदायका अगुवाहरूले यस पर्वलाई संस्कृतिको संरक्षण र भावी पुस्तामा परम्पराको हस्तान्तरणको अवसरका रूपमा लिएका छन्।

धार्मिक विश्वास अनुसार गोवर्धन पूजा भगवान् श्रीकृष्णले इन्द्रको अहंकार तोड्न गोवर्धन पर्वत उठाएको स्मरणमा मनाइन्छ। त्यस्तै, गोधन कुट्ने परम्पराले खेतीपाती र पशुधनको समृद्धिको कामना प्रकट गर्छ।