काठमाडौं, २१ असोज — नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु (अखिल) ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिने भएको छ।
अखिलका महासचिव दीपक धामीका अनुसार उनीहरू आज केहीबेरमै जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेर जाहेरी दर्ता गर्न लागेका छन्।
“२४ भदौमा जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र प्रहरी हत्या घटनामा उनीहरूको संलग्नता रहेको भन्दै उजुरी दिन लागेका हौँ,” धामीले भने।
उक्त दिन ‘जेनजी आन्दोलन’ का नाममा काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन भएको थियो। प्रदर्शनकै क्रममा संसद भवन क्षेत्र, सिंहदरबार र विभिन्न प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो।
अखिलले सो घटनामा प्रत्यक्ष तथा परोक्ष रूपमा संलग्न रहेको आरोपमा काठमाडौं महानगर प्रमुख साह र सुदन गुरुङमाथि अनुसन्धान थाल्न माग गर्दै प्रहरीमा औपचारिक उजुरी दर्ता गर्ने तयारी गरेको जनाएको छ।