जनकपुरधाम, २४ भदौ :-जेन–जी पुस्ताले देशभर आह्वान गरेको आन्दोलनका क्रममा प्रदर्शनकारीको ज्यान गएपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज आफ्नो पदबाट राजीनामा दिएका छन्।
सामाजिक संजालबाट राजीनामा घोषणा गर्दै सिंहले आन्दोलनका क्रममा प्रदर्शनकारीले ज्यान गुमाउनु अत्यन्त पीडादायी भएको बताउँदै दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
सिंहले भनेका छन्,
“जनताको विश्वास र मतबाट निर्वाचित भएर जनप्रतिनिधि बन्नु मेरो जीवनकै ठूलो गौरव थियो। तर नागरिककै जीवन सुरक्षित गर्न नसकिएको वर्तमान परिस्थितिले मलाई आत्मसम्मानपूर्वक यो निर्णय लिन बाध्य बनाएको हो। नागरिकको ज्यान भन्दा ठूलो अरु केही छैन भन्ने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु।”
उनले संविधानले प्रदान गरेको शान्तिपूर्ण आन्दोलनको अधिकारलाई सम्मान गर्दै समस्या समाधानको एक मात्र बाटो संवाद, आपसी समझदारी र सहकार्य नै भएको उल्लेख गरेका छन्।
मुख्यमन्त्री सिंहले आफ्नो कार्यकालमा साथ दिने सम्पूर्ण सहयोगी, जनप्रतिनिधि, सरोकारवाला निकाय, तथा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत लगायत सबै नेता, कार्यकर्ता र समितिप्रति आभार प्रकट गरेका छन्।
