वीरगंज, १७ भदौ, पर्सा — वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंजमा अध्ययनरत दलित विद्यार्थीहरूको आवासीय समस्या समाधान गर्न महानगरपालिकाले दलित छात्रावास निर्माण गर्ने घोषणा गरेका छन्।
नेपाल पासवान संघ पर्साले आयोजना गरेको बृहत पासवान भेलालाई सम्बोधन गर्दै मेयर सिंहले छात्रावास निर्माण यही आर्थिक वर्षभित्रै सुरु हुने जानकारी दिए। उनले दलित विद्यार्थीहरूको शैक्षिक यात्रालाई सहज बनाउन छात्रावास अत्यावश्यक रहेको बताए।
मेयर सिंहले दलित समुदायको सामाजिक तथा आर्थिक अवस्था सुधार नआउनुमा दलित अगुवाहरूको पनि भूमिका रहेको टिप्पणी गर्दै भने,
“कानूनले दिएको अधिकारका सवालमा दलित अगुवाहरूले नै बोल्न नसक्नु र अवसरवादी भूमिकामात्र लिन खोज्नु कमजोरी हो।”
भेलामा भारतको अल इन्डिया पासवान एकता मञ्चका अध्यक्ष निरञ्जन पासवानले नेपाल–भारतबीचको ऐतिहासिक मित्रता जस्तै नेपाल र भारतका पासवान समुदायबीचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा नेपाल पासवान संघ पर्साका अध्यक्ष प्रभु पासवानको अध्यक्षतामा विभिन्न संघसंस्थाका पदाधिकारीहरूले मन्तव्य राखेका थिए। सहभागीहरूमा मञ्चका महासचिव डा। वीरेन्द्र पासवान, चौहरमल राष्ट्रिय परिषद मुकामका अध्यक्ष राजकुमार पासवान, धर्मेन्द्र पासवान, नेपाल पासवान संघ बाराका अध्यक्ष राजदेव पासवान, र दलित संघर्ष समिति बाराको समेत सहभागिता रहेको थियो |