वीरगन्ज, ७ भदौ पर्सा — पर्सा जिल्लामा झाडा पखालाको संक्रमण तीव्र रूपमा फैलिएको छ। नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. निरज सिंहका अनुसार संघीय, प्रदेश र स्थानीय सरकारको लापरबाहीकै कारण स्थिति गम्भीर बनेको हो।
दुई महिना अघिदेखि वीरगन्ज र आसपासमा खानेपानीको अभाव देखिएपछि तीनै तहका सरकारले डिप बोरिङमार्फत जथाभावी खानेपानी आपूर्ति सुरु गरेका थिए। तर पाइपलाइन नालामै डुबेको र फोहर पानी खानेपानीमा मिसिँदा ठूलो संख्यामा बिरामी परेको चिकित्सकहरूको भनाइ छ।
मुर्ली, नगवा, श्रीपुर लगायतका बस्तीहरू सबैभन्दा प्रभावित छन्। डा. सिंहका अनुसार, पानीजस्तो संवेदनशील सेवामा देखाइएको चरम लापरबाहीले हजारौँ मानिसको ज्यान जोखिममा परेको छ।
स्वास्थ्यकर्मीहरूले प्रभावित क्षेत्रमा जनचेतना कार्यक्रम र आकस्मिक उपचार सेवा सुरु गरेका छन्, तर शुद्ध खानेपानी आपूर्तिको स्थायी समाधान नगरी महामारी नियन्त्रण कठिन हुने चेतावनी दिएका छन्।