आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News हैजाको बढ्दो सङ्क्रमणका कारण वीरगञ्ज महानगरभित्रका सम्पूर्ण विद्यालयहरू अनिश्चितकालका लागि बन्द

हैजाको बढ्दो सङ्क्रमणका कारण वीरगञ्ज महानगरभित्रका सम्पूर्ण विद्यालयहरू अनिश्चितकालका लागि बन्द

137

वीरगञ्ज, ७ भदौ —  बिगत केही दिन देखि हैजाको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेपछि वीरगञ्ज महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन अनिश्चितकालका लागि स्थगित गरेको छ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनाअनुसार भाद्र ८ र ९ गते (आइतबार र सोमबार) दुई दिनका लागि विद्यालयहरू बन्द गरिने प्रारम्भिक निर्णय भए पनि सङ्क्रमणको अवस्था गम्भीर बन्दै गएपछि पठनपाठन अनिश्चितकालका लागि स्थगित गरिएको हो।

सूचनामा हैजाको संक्रमणबाट जोगिन जनस्वास्थ्यका उपायहरू अवलम्बन गर्न सबैलाई आग्रह गरिएको छ। महानगरपालिकाले पानी उमालेर मात्र पिउन, शौचालय प्रयोग गरेपछि अनिवार्य साबुन पानीले हात धुने, सरसफाईका नियमहरू पालना गर्ने, काँचै खाने तरकारी तथा फलफूल तातोपानीले पखालेर मात्र खाने तथा संक्रमण रोकथामका आवश्यक सावधानीहरू अपनाउन अनुरोध गरेको छ।

वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका एक अधिकारीले भने, “हालको अवस्थालाई ध्यानमा राख्दा विद्यार्थीको स्वास्थ्यलाई उच्च प्राथमिकता दिइएको हो। हैजाको संक्रमण नियन्त्रणमा आउँदासम्म विद्यालय सञ्चालन स्थगित राखिनेछ।”

स्वास्थ्यकर्मीहरूले पनि हैजाबाट बच्न व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन र आवश्यक परेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाव दिएका छन्।