आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकहरूको बानेश्वरमा प्रदर्शन

विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकहरूको बानेश्वरमा प्रदर्शन

88

काठमाडौं, ६ भाद्र — विद्यालय शिक्षा विधेयकका केही प्रावधानविरुद्ध आन्दोलनमा उत्रिएका निजी विद्यालय सञ्चालकहरूले शुक्रबार बानेश्वरमा प्रदर्शन गरेका छन्।

बिहीबारदेखि आन्दोलित रहेका उनीहरू बिहान माइतीघर मण्डलामा जम्मा भई र्‍यालीसहित बानेश्वरतर्फ प्रस्थान गरेका थिए। बानेश्वरमा पुगेपछि आन्दोलनकारीहरूले नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।

‘गैरनाफामूलक चाहिँदैन, कम्पनी मास्न पाइँदैन’, ‘पूर्ण छात्रवृत्ति लाद्न पाइँदैन, निजी विद्यालय मास्न पाइँदैन’, ‘निजी विद्यालयको योगदान, मजबुत अर्थतन्त्रको निर्माण’ लगायत प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

आजको आन्दोलन कार्यक्रमअनुसार, उनीहरूले बानेश्वरबाट संसद भवनअगाडि पुगेर धर्ना दिने योजना बनाएका थिए। तर, संसद भवनअगाडि पर्ने क्षेत्र निषेधित क्षेत्र भएकाले सुरक्षाकर्मीहरूले प्रदर्शनकारीलाई अघि बढ्न दिएनन्। प्रहरीको अवरोधपछि केही समय आन्दोलनकारी र सुरक्षाकर्मीबीच हल्का धकेलाधकेल समेत भएको थियो।

यसै क्रममा, निजी विद्यालय सञ्चालकहरूले काठमाडौं चक्रपथका विभिन्न चोकहरूमा गाडी तेर्स्याएर पनि विरोध प्रदर्शन गरेका छन्।

विद्यालय शिक्षा विधेयकका केही प्रावधानहरूलाई निजी विद्यालय सञ्चालकहरूले शिक्षा क्षेत्रमा ‘अत्यधिक सरकारी हस्तक्षेप’ भन्दै आपत्ति जनाएका छन्। उनीहरूको भनाइमा, विधेयकले निजी क्षेत्रको स्वतन्त्रता हनन हुने र गुणस्तरीय शिक्षामा नकारात्मक प्रभाव पर्न सक्ने भएकाले यसलाई तत्काल संशोधन गर्नुपर्ने माग राखिएको छ।

निजी विद्यालय सञ्चालकहरूले चेतावनी दिएका छन् कि मागहरू पूरा नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउँदै लगिनेछ।