काठमाडौँ, ६ भाद्र — राजधानी काठमाडौँमा सक्कली जस्तै देखिने नक्कली पेस्तोल देखाएर डर त्रास सिर्जना गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा काठमाडौँ महानगरपालिका–११, सुन्धारा स्थित सिभिल मलको पाँचौं तलामा रहेको The Toy Store Enterprisesमा छापा मार्दा नक्कली पेस्तोल बरामद गरेको हो। सो स्टोर धादिङ निलकण्ठ–३ स्थायी घर भई बसुन्धारा बस्ने सन्तोषी श्रेष्ठको नाममा दर्ता भई प्रकाश श्रेष्ठले सञ्चालन गर्दै आएको बताइएको छ।
प्रहरीका अनुसार, पछिल्ला दिनमा उपत्यकाका विभिन्न स्थानहरूमा यस्ता नक्कली हतियार देखाई चोरी, डकैति र लुटपाटका घटना बढिरहेका थिए। यसै कारण हातहतियार जस्तो देखिने वस्तुहरूको विक्री, वितरण तथा प्रयोग नियन्त्रण गर्ने उद्देश्यले प्रहरी टोलीले सो कार्यवाही सञ्चालन गरेको हो।
बरामद गरिएको नक्कली पेस्तोलसहित पक्राउ परेका प्रकाश श्रेष्ठलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त जनसेवामा राखिएको छ।