वीरगंज, ६ भाद्र : — वीरगंज महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि छात्रवृत्ति प्रवेश परीक्षा शुक्रबार शान्तिपूर्ण ढंगले सम्पन्न गरेको छ। संस्थागत विद्यालयमा छात्रवृत्ति कोटामा अध्ययन गर्ने इच्छुक विद्यार्थीलाई अवसर दिलाउन महानगरले चारवटा परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन गरेको हो।
यस वर्ष कक्षा ९ र ११ मा भर्ना हुन चाहने कुल २ हजार ३ सय १ जना विद्यार्थीले अनलाइन फाराम भरेका थिए, तर करिब २ सय ६८ जना विद्यार्थी अनुपस्थित रहेका महानगरको शिक्षा महाशाखाले जनाएको छ। बिहान साढे ७ बजे सुरु भई डेढ घण्टासम्म चलेको परीक्षा सहज र व्यवस्थित रूपमा सम्पन्न भएको शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिनुभयो।
महानगरपालिकाले प्रत्येक वर्ष कक्षा ९ र ११ का विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। छात्रवृत्ति पाउने विद्यार्थीले क्रमशः कक्षा १० र १२ सम्म सोही सुविधा निरन्तर पाउने व्यवस्था गरिएको छ। यस वर्ष महानगरभित्र सञ्चालनमा रहेका ८० वटा विद्यालयमा कक्षा ९ र ३८ वटा विद्यालयमा कक्षा ११ का लागि छात्रवृत्तिको व्यवस्था मिलाइएको छ।
विद्यालयहरूको विद्यार्थी संख्याको १० प्रतिशत बराबर छात्रवृत्ति सिफारिस गर्नुपर्ने नियम रहेको छ। परीक्षामा सफल हुने विद्यार्थीलाई क्लस्टरअनुसार सिफारिस गरिने उप–प्रमुख इम्तियाज आलमले जानकारी दिनुभयो।
शिक्षा क्षेत्रमा समान अवसर सुनिश्चित गर्न र असमानता घटाउन महानगर आफैंले छात्रवृत्तिको परीक्षा सञ्चालन गर्दै आएको छ। यसले आर्थिक तथा सामाजिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई संस्थागत विद्यालयमा अध्ययन गर्ने अवसर प्रदान गर्दै आएको महानगरको दाबी छ।
छात्रवृत्ति सिफारिस गर्दा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थी तथा वीरगंज महानगरपालिकाका स्थायी बासिन्दालाई प्राथमिकता दिइने भएको छ। साथै, महिला, दलित, आदिवासी–जनजाति, अपाङ्गता भएका व्यक्ति, शहीद तथा बेपत्ता परिवारका बालबालिका र मधेश आन्दोलनका घाइतेका बालबालिकाका लागि छुट्टै आरक्षण कोटा व्यवस्था गरिएको छ।
महानगरले केही दिनमै परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। नतिजा प्रकाशन भएपछि छात्रवृत्ति प्राप्त विद्यार्थीलाई सम्बन्धित विद्यालयमा पठाउन आवश्यक प्रशासनिक प्रक्रिया सुरु गरिने शिक्षा महाशाखाले जनाएको छ।