काठमाडौं, ५ भदौ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा सरकारले अपनाएको भूमिकालाई ‘निकम्मा’ भन्दै कडा आपत्ति जनाएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सहकारी पीडितको न्यायका सट्टा सरकारले एउटा व्यक्तिमाथि मात्रै बहस केन्द्रित गरेर हजारौं पीडितलाई अन्यायमा पारेको आरोप लगाए।
थापाले भने, “सरकारले सुरुदेखि नै निष्पक्ष र कठोरतापूर्वक सबै ठगहरूलाई कारबाही गरेको भए, आज एउटा व्यक्तिलाई लिएर यत्रो ठूलो राजनीतिक कोकोहोलो मच्चिने अवस्था नै आउने थिएन।”
उनका अनुसार, सूर्य थापाको नेतृत्वमा बनेको समितिले दिएका दर्जनौं सुझाव र रामेश्वर खनालको रिपोर्टलाई सरकारले बेवास्ता गरेको छ। उनले तथ्यांक प्रस्तुत गर्दै भने, “५० हजारभन्दा बढी मानिस रकम फिर्ताको सूचीमा छन्, तर जम्मा ४ हजारले मात्र रकम पाएका छन्। बाँकी सबैको पीडा आज पनि नसुनिएको छ।”
गगन थापाले सहकारी ठगीमा राजनीतिक पूर्वाग्रहले हस्तक्षेप गरेको भन्दै असन्तोष व्यक्त गरे। “यदि हामीले कांग्रेस, एमाले नभनी सहकारी ठगीमा संलग्न जोसुकैलाई कारबाही गरेको भए, कसैलाई दयामाया नदेखाएको भए, आज यो अवस्था आउने थिएन।