आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सबै दलहरूसँग मिलेर काम गर्नुपर्ने अवस्था छ : शेर बहादुर देउवा

सबै दलहरूसँग मिलेर काम गर्नुपर्ने अवस्था छ : शेर बहादुर देउवा

81

३ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान संविधानले कुनै पनि दललाई स्पष्ट बहुमत नदिने भएकाले प्रतिष्पर्धी राजनीतिक दलहरूसँग समेत सहकार्य गर्नुपर्ने अवस्था आएको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार आयोजित स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले नेपालको संविधान समावेशी र समानुपातिक आधारमा बनेको भन्दै यसले सबै दललाई सहकार्य र सहमतिमा अघि बढ्न प्रेरित गर्ने बताए।

उनले भने, “अहिलेको संविधान समावेशी समानुपातिक आधारको संविधान हो। कुनै पनि दललाई बहुमत आउँदैन, त्यसैले सबै दलसँग मिलेर अघि बढ्नुपर्ने अवस्था छ। प्रतिष्पर्धी दलहरूसँग पनि सहकार्य नगरी विकल्प छैन।”

देउवाले नयाँ संविधान सफलतापूर्वक कार्यान्वयन भइसकेको र यसले महिला, आदिवासी, जनजाति, मधेशी लगायत सबै समुदायका अधिकार सुनिश्चित गरेको उल्लेख गरे। “वास्तवमा भन्ने हो भने हामीले राम्रो बाटो लिएका छौँ। समावेशी संविधान बनेको छ, जसले सबैको अधिकार सुरक्षित गरेको छ,” उनले भने।

उनले संविधानको सफल प्रयोग र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउन राजनीतिक स्थिरताका लागि दलहरूबीच निरन्तर सहकार्य आवश्यक रहेको पनि दोहोर्‍याए।