आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News भारतले नेपाली सेनालाई ६ स्ट्राइकिङ भेइकल र सैनिक घोडा– कुकुर उपहार

भारतले नेपाली सेनालाई ६ स्ट्राइकिङ भेइकल र सैनिक घोडा– कुकुर उपहार

128

२ भदौ, काठमाडौं । दुईदिने नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिश्रीले सोमबार नेपाली सेनालाई विभिन्न सैन्य सामग्री हस्तान्तरण गरेका छन् ।

मिश्रीले सेनाको मुख्यालय जंगीअड्डा पुगेर ‘लाइट स्ट्राइकिङ भेइकल’ ६ वटा नेपाली सेनालाई प्रदान गरे । जंगीअड्डाका एक उच्च अधिकारीका अनुसार, उक्त सामग्री हस्तान्तरण गर्ने तयारी केही दिनअघि नै सुरु भएको थियो ।

विदेशसचिव मिश्रीले स्ट्राइकिङ भेइकलसँगै ब्रिडिङ प्रयोजनका लागि २ वटा सैनिक कुकुर र ५ वटा सैनिक घोडासमेत नेपाली सेनालाई उपहार दिएका छन् । त्यससँगै केही स्वास्थ्य सामग्री पनि हस्तान्तरण गरिएको सैनिक स्रोतले जनाएको छ ।

यसअघि जंगीअड्डामा भारतीय विदेशसचिव मिश्री र प्रधानसेनापति अशोकराज सिग्देलबीच दुई पक्षीय हित र सैन्य सम्बन्धबारे भेटवार्ता भएको थियो ।

नेपाल भ्रमणको क्रममा मिश्रीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको आधिकारिक निम्तो दिएका थिए । साथै उनले प्रधानमन्त्री के पी शर्मा ओली, राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग समेत भेट गरेका थिए ।

मिश्री सोमबार दिउँसो २:३० बजे स्वदेश फर्कने कार्यक्रम छ ।