३० श्रावन जनकपुरधाम — प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको नवनिर्मित प्रशासनिक भवनको शुक्रबार विशेष समारोहबीच उद्घाटन गर्नुभएको छ। उद्घाटनपछि उहाँले भवनको विभिन्न भागको अवलोकन समेत गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समाजमा शान्ति–सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण र अनुसन्धानका साथै जनतालाई प्रारम्भिक सेवा तथा न्याय उपलब्ध गराउन प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
नेपाल सरकारले लिएको उद्देश्य हासिल गर्नका लागि सबै सरोकारवाला निकायहरूले नयाँ तरिका, नयाँ ढंग र दृढ संकल्पका साथ अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो। साथै, आफूलाई “ठूलो दर्जाको व्यक्ति” भन्दा पनि “जनताको सेवक” भन्ने भावना राखी कार्य गर्न उपस्थित सबैलाई प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो।
समारोहमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी, सरकारी अधिकारी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।