२९ श्रावन,काठमाडौं – जलिरहेको शवबाट हड्डी चोरी गरी बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी घर भई कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरीको बलानबिहुल गाउँपालिका घर भई गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराका अनुसार उनीहरूलाई बिहीबार पक्राउ गरिएको हो। यसअघि साउन २३ गते चितामा जलिरहेको अवस्थामा शवबाट हड्डी निकालेर बेच्ने कार्यमा संलग्न भएको आरोपमा गणेश प्रसाद ढकाल र उनका सहयोगी विनायक मैनालीलाई प्रहरीले पक्राउ गरिसकेको थियो।
प्रहरीका अनुसार ढकालले काभ्रेको बनेपा नगरपालिका–९ का राम शाहीको शव जलाउने क्रममा हड्डी निकालेका थिए। प्रारम्भिक अनुसन्धानमा ती हड्डी ५ सय रुपैयाँमा अर्का व्यक्तिलाई बिक्री गरेको खुलेको छ।
२५ वर्षदेखि पशुपतिमा शव जलाउने काम गर्दै आएका ढकाललाई पशुपति विकास कोषबाट एउटा शव जलाएबापत १५ सय रुपैयाँ पारिश्रमिक दिइँदै आएको प्रहरीले जनाएको छ।
प्रहरीले रामनन्दन ठाकुरको साथबाट प्लास्टिकमा पोको पारी राखिएको हड्डीको धुलो र खरानी बरामद गरेको छ। घटनाबारे प्रहरी वृत्त गौशालाले थप अनुसन्धान गरिरहेको छ।