वीरगन्ज, २९ साउन — वीरगन्ज महानगरका विभिन्न वडामा अहिले गाई, भैंसीलगायतका चौपायामा लम्पीस्किन रोग देखिएपछि वीरगंज महानगरपालिकाले पशुपालक किसानलाई सतर्क रहन आग्रह गरेको छ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले बिहीबार सार्वजनिक सूचना जारी गर्दै अनावश्यक चौपायाको ओसार–पसार नगर्न र रोगको लक्षण देखिएमा तत्काल महानगरको पशु सेवा शाखामा सम्पर्क गर्न अनुरोध गरेका छन्। सोही अवसरमा पशु सेवा शाखाका डा. सुदीपकुमार शर्मा (मो. नं. ९८४४२२५९०२) र सन्तोष ठाकुर (मो. नं. ९८४५०९७३८७) का सम्पर्क नम्बर पनि सार्वजनिक गरिएको छ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्साका नायब पशु सेवा प्राविधिक विजय कुमार यादवका अनुसार डेढ सातादेखि वीरगन्ज र आसपासका किसानले लम्पीस्किन प्रभावित चौपाया उपचारका लागि ल्याइरहेका छन्। यस रोग लागेपछि चौपायामा अत्यधिक ज्वरो, झोक्राउने, खाना नखाने, शरीरभरि ५ सेन्टिमिटरसम्मका गहिरा घाउ, सुन्निने, घाउ फुटेर किरा निस्कने जस्ता लक्षण देखापर्छन्।
यो रोग विशेष गरी झिंगा, लामखुट्टे, उपियाँजस्ता परजीवी तथा संक्रमित चौपायाको ¥याल र घाउमार्फत सर्ने गर्छ।
पर्सामा लम्पीस्किन रोग पहिलोपटक २०८० वैशाखको अन्त्यतिर ठोरी गाउँपालिकामा देखिएको थियो। त्यसपछि यो रोग १४ वटै स्थानीय तहमा फैलिएको थियो। त्यस वर्षको भदौ अन्त्यतिर रोग नियन्त्रणमा आए पनि त्यतिबेला ३६ चौपाया मरेका थिए भने १ हजार ८ सय १ चौपाया संक्रमित भएका थिए।
महानगरपालिकाले यस पटकको प्रकोपलाई नियन्त्रण गर्न किसानलाई आवश्यक सावधानी अपनाउन, संक्रमित चौपायालाई अलग राख्न र तुरुन्त उपचारको व्यवस्था गर्न आग्रह गरेको छ।
