२६ श्रावन, रुपन्देही — रुपन्देहीको भैरहवा कारागारमा बन्दी जीवन बिताइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृह मन्त्री रवि लामिछानेको मानवअधिकार हनन भएको राष्ट्रिय मानवअधिकार आयोगले पुष्टि गरेको छ। सोमबार कारागारको अनुगमनपछि आयोगले न्यूनतम मानवीय सुविधा नदिइएको कारण लामिछानेको अधिकार हनन भएको निष्कर्ष निकालेको हो।
आयोगकी प्रवक्ता लिली थापाले लामिछानेलाई राखिएको थुनुवा कक्षको झ्याल पूर्ण रूपमा थुनिएको र हावापास हुने अवस्था समेत नरहेको बताइन्। उनले भनिन्, “थुनुवा कक्षको भौतिक अवस्था न्यूनतम मानवीय मापदण्ड विपरीत रहेको पाइयो।”
यसअघि लामिछानेका समर्थकहरूले उनलाई दयनीय अवस्थामा जेलमा राखिएको दाबी गरेका थिए भने विरोधीहरूले भीआइपी सुविधा, एसीसहितको कोठा प्रयोग गरिरहेको आरोप लगाएका थिए। यी परस्पर विरोधी दाबीहरू सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म फैलिएको अवस्थामा आयोग स्वयं अनुगमनमा गएको हो।
अनुगमनपछि आयोगले लामिछानेले विशेष सुविधा लिएको भन्ने दाबी असत्य ठहर गर्दै, उल्टै उनको मानवअधिकार हनन भएको पुष्टि गरेको छ। आयोगले कारागार प्रशासनलाई तुरुन्तै न्यूनतम मानवीय सुविधा उपलब्ध गराउन सुझावसमेत दिएको छ।