काठमाडौं, २६ साउन — माबिलुङ इनर्जी लिमिटेडले आज सोमबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन सुरु गरेको छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा कुल १८ लाख ९० हजार ५३० कित्ता सेयर बिक्रीमा ल्याएको हो, जुन जारी पूँजीको ४८.९९ प्रतिशत हो।
यसअन्तर्गत वैदेशिक रोजगारमा रहेका नेपाली, आयोजना प्रभावित तथा सामूहिक लगानी कोषलाई छुट्याइएको हिस्सापछि बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता सेयर सर्वसाधारणका लागि उपलब्ध छ।
निवेशकहरूले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन्। बिक्री व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका अनुसार आवेदन अवधि साउन २९ गतेसम्म रहनेछ।
माबिलुङ इनर्जीले संखुवासभा जिल्लाको माथिल्लो पिलुवाखोला–३ मा ४.९५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ, जसको प्रतिमेगावाट लागत २२ करोड ९५ लाख रुपैयाँ परेको छ।
गत चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रति सेयर नेटवर्थ १०६ रुपैयाँ ९५ पैसा र प्रति सेयर आम्दानी १ रुपैयाँ ५ पैसा छ। कम्पनीको अनुमानित साधारण लगानी फिर्ता अवधि ९.४३ वर्ष रहेको छ।