आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News विपद् न्यूनिकरण राज्यको प्राथमिकता नबन्दा जनधनको क्षति रोक्न नसकिने — सशस्त्र प्रहरी महानिरीक्षक अर्याल

विपद् न्यूनिकरण राज्यको प्राथमिकता नबन्दा जनधनको क्षति रोक्न नसकिने — सशस्त्र प्रहरी महानिरीक्षक अर्याल

89

काठमाडौं, साउन १६ — सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक (आईजी) राजु अर्यालले विपद्जन्य क्षतिको न्यूनिकरण राज्यको प्रमुख प्राथमिकतामा नपरेसम्म प्रभावकारी परिणाम हासिल गर्न नसकिने बताएका छन्।

सशस्त्र प्रहरी बल, नेपालले आज काठमाडौंमा आयोजना गरेको ‘विपद् सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम’ मा बोल्दै महानिरीक्षक अर्यालले विपद् व्यवस्थापनलाई संविधान, मौलिक हक र मानव जीवनको रक्षासँग गाँसेर हेर्नुपर्ने बताए।

उनले भने, “संविधानको रक्षा, मौलिक हकको रक्षा र मानवको रक्षा गर्न विपद् न्यूनिकरणको विषयलाई सम्पूर्ण सरोकारवाला निकायले प्राथमिकतामा राख्न आवश्यक छ।”

महानिरीक्षक अर्यालका अनुसार प्रत्येक वर्ष देशमा सर्वाधिक जनधनको क्षति विपद्जन्य कारणले हुने गरेको तथ्यले सरकारलाई गम्भीर बन्ने बेला आएको स्पष्ट संकेत दिएको छ। उनले विपद् जोखिम न्यूनीकरणलाई केवल उद्धार वा राहतको कार्यमा सीमित नगरी पूर्वतयारी, सचेतना, र पूर्वानुमान प्रणालीहरूमा लगानी बढाउनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा सहभागी अन्य अधिकारी तथा विज्ञहरूले पनि नेपालजस्तो भौगोलिक विविधता भएको मुलुकमा जलवायु परिवर्तन, भू–स्खलन, बाढी, आगलागी र भूकम्पजस्ता घटनाहरू बारम्बार दोहोरिने भएकाले, समन्वित र संस्थागत उपाय आवश्यक रहेको उल्लेख गरे।

सशस्त्र प्रहरी बलले देशभर विपद् व्यवस्थापनमा सक्रिय भूमिका खेलेको स्मरण गराउँदै अर्यालले बलको दक्षता र पूर्वतयारी क्षमता अझ सुदृढ पार्नुपर्नेमा जोड दिए।

कार्यक्रममा गृह मन्त्रालय, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र, स्थानीय तहका प्रतिनिधि, तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो।