उत्सव खबर, वीरगञ्ज, २९ असारः
पछिल्लो समय भारतबाट पर्सा, बारा लगायतका सीमावर्ती नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय पर्यटकहरूलाई सुरक्षाकर्मीले चेकजाँचको नाममा सास्ती दिएको गुनासो बढेपछि मधेस प्रदेश सरकारले गम्भीर ध्यानाकर्षण जनाएको छ। भारतीय नागरिकलाई सीमामा अनुचित व्यवहार, अनावश्यक सोधपुछ र दुर्व्यवहारबारे उजुरीहरू बढ्दै गएपछि प्रदेश सरकारले तत्काल सुधारको पहल थालेको हो। मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री बसन्त कुशवाहाले यस विषयमा कडा चासो व्यक्त गर्दै प्रदेशका आठवटै जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूलाई विशेष परिपत्र पठाएका छन्। उक्त परिपत्रमार्फत भारतीय पर्यटकलाई सहज आवागमन सुनिश्चित गर्न निर्देशन दिइएको छ। परिपत्रमा मन्त्री कुशवाहाले पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीका सीमावर्ती नाकाहरूमा सुरक्षाकर्मीहरूबाट पर्यटकहरूलाई अनावश्यक रूपमा चेकजाँच तथा अपमानजनक व्यवहार गरिँदै आएको गुनासो उल्लेख गरेका छन्। उनले जिल्ला प्रशासन कार्यालयलाई त्यसप्रति संवेदनशील भई सीमा नाकामा पर्यटकमैत्री व्यवस्था गर्न र सुरक्षाकर्मीहरूलाई व्यवहारमा परिवर्तन ल्याउन निर्देशन दिएका छन्। मन्त्री कुशवाहाले भने, “भारत र नेपालको सम्बन्ध ऐतिहासिक, धार्मिक र सांस्कृतिक रूपमै गहिरो छ। पर्यटकहरूलाई सास्ती होइन, सम्मान मिल्नुपर्छ। यसले पर्यटन प्रवर्द्धनमा पनि सकारात्मक भूमिका खेल्नेछ।”
135