आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News क्यान्सरका बिरामीलाई दुर्लभ महंगो औषधि निःशुल्क, चार अस्पतालबाट सेवा लिन सकिने

क्यान्सरका बिरामीलाई दुर्लभ महंगो औषधि निःशुल्क, चार अस्पतालबाट सेवा लिन सकिने

132

असार २९ वीरगंज

काठमाडौं :  क्यान्सर उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि निःशुल्क उपलब्ध हुने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन् । नेपालमा उपलब्ध नभएका कारण उपचारका लागि विदेश जानुपर्ने समस्या कम गर्न मन्त्री पौडेलको विशेष पहलमा अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषधि सहयोग गर्ने प्रतिबद्धता जनाए अनुसार पहिलो भाग नेपाल आइपुगेको हो । डाइरेक्ट रिलिफले स्तन,छाला तथा विभिन्न खालका क्यान्सर उपचारमा आवश्यक पर्ने दुर्लभ र महँगा ती औषधि नेपालको आवश्यकताअनुसार ५ वर्षसम्म सहयोग स्वरुप उपलब्ध हुने मन्त्री पौडेलले जानकारी दिए । क्यान्सरको औषधि महँगो हुँदा विपन्न नागरिकलाई समस्या छ,’मन्त्री पौडेलले भने,‘राज्यको लगानीबीना नै धेरै नागरिकलाई राहत दिने प्रयास गरेका हौं ।’ हाल ३७ प्रकारका औषधि क्रमैसँग आउने भए पनि अरु आवश्यक औषधि समेत सहयोगमा प्राप्त गर्न प्रयास गरिने मन्त्री पौडेलले बताए । ‘सूची थप गरेर धेरै नागरिकलाई अझ राहत दिन प्रयत्न गर्नेछौं,’मन्त्री पौडेलले भने । मन्त्री पौडेलले सरकारी क्यान्सर अस्पतालमा तत्काल औषधि पठाउने व्यवस्था मिलाइएको जानकारी समेत दिए । मन्त्री पौडेलले सरकारले दिने स्वास्थ्य सुविधा तथा बीमाबारे पर्याप्त जानकारी प्राप्त नहुँदा नागरिकले सेवा लिन नसकिरहेको प्रसंग कोट्याउँदै सञ्चारमाध्यमलाई यस्ता जानकारी प्राथमिकताका साथ प्रसार गरेर सहयोग गरिदिन आग्रह गरे । मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा। भीम सापकोटाले ५ वर्षसम्म नेपालको आवश्यकताअनुसार औषधि प्राप्त गर्ने गरी समझदारी भएको जानकारी दिए । वन हर्ट वल्र्डवाइडका नेपाल प्रतिनिधि सूर्य भट्टले मन्त्री पौडेलको विशेष पहलबाट मात्र औषधी प्राप्त भएको भन्दै यो नेपालका लागि ठूलो उपलब्धि भएको बताए । स्तन क्यान्सर,प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य सामग्रीहरू यी चार अस्पतालहरूमा क्यान्सरका बिरामीहरूलाई निःशुल्क रुपमा उपलब्ध गराइने मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए । मन्त्रालयलाई हस्तान्तरण गरिएका औषधि र स्वास्थ्य सामाग्रीहरू आजै क्यान्सर उपचारमा संलग्न चार अस्पतालहरू बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके, वीर अस्पताल, काठमाडौंलाई हस्तान्तरण गरिएको छ ।