आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News बम विस्फोटमा आधा शरीर जलेका गौरीशंकर न्यायका लागि काठमाडौंमा, मुख्य आरोपीलाई सफाइ दिएपछि न्यायाधीशमाथि छानबिन

बम विस्फोटमा आधा शरीर जलेका गौरीशंकर न्यायका लागि काठमाडौंमा, मुख्य आरोपीलाई सफाइ दिएपछि न्यायाधीशमाथि छानबिन

155

राजु साह वीरगंज
उत्सव खबर

काठमाडौं, २२ असार २०८२
“शरीर त जलेको छ, न्याय नपाउँदाको पीडाले मन झन् जलेको छ।”
– गौरीशंकर राम चमार

१८ वर्षअघि भएको रौतहट बम विस्फोटमा घाइते भएका सीतामढी भारतका ४३ वर्षीय गौरीशंकर राम चमार अहिले न्यायको खोजीमा काठमाडौं आइपुगेका छन्। विस्फोटबाट घाँटीदेखि तलको आधा शरीर जलेका, दुवै कान गुमाएका, अनुहारमा स्थायी घाउ बोकेका गौरीशंकर अझै पनि त्यो कालरात सम्झिँदा काँप्छन्।

२०६४ सालको चैत २७ गते नेपाली कांग्रेसका तत्कालीन सांसद अफताब आलमको घरमा बम बनाउने क्रममा विस्फोट हुँदा उनी गम्भीर घाइते भएका थिए। घटनास्थलमै दर्जनभन्दा बढी मजदुरहरूको मृत्यु भएको भनिएको थियो। उनीहरूलाई बम विस्फोटपछि जीवितै इँटाभट्टामा हालेर मारिएको आरोप आलममाथि लागेको थियो।

तर, गत जेठ १४ गते उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले प्रमाण नपुगेको भन्दै अफताब आलमलाई सफाइ दिएको छ। अहिले सो निर्णय गर्ने न्यायाधीशमाथि नै न्यायपरिषद्मा छानबिन भइरहेको छ।


‘साक्षी म हुँ, तर न्याय छैन’

गौरीशंकर आफैं उक्त घटनाका प्रत्यक्षदर्शी र बम विस्फोटका पीडित हुन्। उनी आफैं अफताब आलमको इँटाभट्टामा मजदुरी गर्थे। विस्फोट भएको दिन आफताबका भाइ महताफले उनलाई पैसा दिन बोलाएका थिए। तर घरमा पसेलगत्तै बम विस्फोट भयो।

“बम पड्किएपछि म भुइँमा लडें। शरीरमा आगो लाग्यो। नजिकैको पानीको ड्रममा हाम फालेर ज्यान बचाएँ। त्यसपछि के भयो थाहा भएन,” – गौरीशंकरले बताउँछन्।

त्यसपछि लामो समय उपचारमा बित्यो। शरीरमा अझै पनि ताजै घाउझैं देखिने दागहरू छन्। घाममा काम गर्न सक्दैनन्। कान गुमेका छन्। तर अफताब आलम सफाइ पाएपछि उनी अझै पनि स्तब्ध छन्।

“मैले देखेको घटना म आफैं बयान दिन तयार छु। तर मलाई सुन्ने कोही छैन,” – पीडित गौरीशंकरको पीडा।


काम खोज्दै, न्याय माग्दै काठमाडौं यात्रा

कसैको सहारा बिना, जलेको शरीर लिएर काठमाडौं आइपुगेका गौरीशंकर न्यायको अपेक्षासँगै कुनै कामको खोजीमा छन्।

“ज्यान त बाँचेँ, तर अहिले पेट पाल्न पनि समस्या छ। यहाँ काम पाइँदैन। मेरो शरीर हेरेर सबैले फर्काउँछन्,” – उनी भन्छन्।

गौरीशंकरले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकनको तयारी गरिरहेका छन्। उनी आफैं अफताब आलमविरुद्धको मुद्दामा मुख्य साक्षी हुन्। यदि उनको बयानलाई गम्भीरताका साथ लिइयो भने, मुलुककै एउटा चर्चित नरसंहारकाण्डमा दोषी सजाय पाउन सक्छन्।


अदालत, न्यायाधीश र छानबिन

अफताब आलमलाई सफाइ दिने फैसलापछि देशभर आलोचना भइरहेको छ। त्यस फैसलामा संलग्न न्यायाधीशमाथि हाल न्याय परिषद्मा छानबिन चलिरहेको छ। मुद्दामा संलग्न प्रमाणहरू, साक्षीको बयान, र न्याय सम्पादनमा देखिएको लापरबाहीबारे सोधपुछ भइरहेको स्रोतहरू बताउँछन्।


न्याय पाउने आशामा…

१८ वर्षअघिको पीडा बोकेर, अनुहारमा स्थायी घाउ बोकेर, कान गुमाएर, न्याय नपाएर मन झन् जलेको छ। तर पनि गौरीशंकरको आशा मरेको छैन।

“न्याय पाइन्छ भन्ने आशामा आएको हुँ। अन्तिम साससम्म लड्नेछु,” – उनले दृढतापूर्वक भने।