आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिको नयाँ कार्यालयको उद्घाटन

नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिको नयाँ कार्यालयको उद्घाटन

151

राजु साह , उत्सव खबर, वीरगंज

जनकपुर, २१ असार — नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिको नयाँ कार्यालयको उद्घाटन आज एक भव्य समारोहका बीच सम्पन्न भएको छ। प्रदेश राजधानी जनकपुरधामको भानु चोकस्थित नयाँ कार्यालय भवनको उद्घाटन भङहा नगरपालिकाका मेयर सञ्जीव साहले रिबन काटेर गर्नुभएको हो। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारीहरू, पत्रकारहरू, र नागरिक समाजका अगुवाहरूको उल्लेखनीय उपस्थिति थियो। उद्घाटन समारोहमा प्रमुख अतिथि मेयर साहले देशका हरेक राजनीतिक, सामाजिक तथा ऐतिहासिक परिवर्तनहरूमा पत्रकारहरूको अतुलनीय योगदान रहेको उल्लेख गर्दै, पत्रकारहरूको संगठनलाई सबै तहका जनप्रतिनिधिहरूले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। समारोहका विभिन्न वक्ताहरूले प्रेस स्वतन्त्रता, पत्रकारहरूको पेशागत हकहित, र सञ्चार क्षेत्रको समृद्धिबारे विचार व्यक्त गरे। वक्ताहरूले सशक्त पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै, मधेस प्रदेशमा पत्रकारहरूको क्षमता अभिवृद्धि तथा पेशागत सुरक्षाका लागि यस्तो संस्थागत पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रामप्रसाद दहाल, वरिष्ठ पत्रकार रामभरत साह, नेपाल प्रहरीका डीआईजी उमा प्रसाद चतुर्वेदी, सशस्त्र प्रहरीका डीआईजी कृष्ण ढकाल, महासंघका सल्लाहकार राजेश कर्ण, केन्द्रिय सदस्यहरू सिकेन्द्र पास्वान र राजु विश्वकर्मा, जिल्ला अध्यक्षहरू पुरन गुप्ता  -धनुषा , श्रवण कुमार देव -सप्तरी, रमेश सुवेदी -बारा, मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झा, प्रेस युनियन मधेस प्रदेश अध्यक्ष सत्यप्रकाश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रदेश सदस्य साजिर मन्सूरले अतिथिहरूलाई फूलमाला र खादा लगाएर स्वागत गरेका थिए। कार्यक्रममा महासंघकी उपाध्यक्ष अम्बिका दहालले स्वागत मन्तव्य दिएकी थिइन् भने कार्यक्रम सञ्चालन महासचिव शैलेन्द्र महतो क्रान्तिले गर्नुभएको थियो। कार्यक्रममा पत्रकार हितमा आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमहरू जस्तै सीप विकास तालिम, सूचना प्रवाह सशक्तीकरण, र पेशागत हकहितका अभियानहरूको घोषणा पनि गरिएको थियो। उद्घाटन गरिएको नयाँ कार्यालय प्रदेशस्तरीय पत्रकारिता सुदृढीकरणको सशक्त आधार बन्ने विश्वास गरिएको छ।