राजु साह , उत्सव खबर, वीरगंज
असार २१, ठोरी (पर्सा) — पर्सा जिल्लाको ठोरी गाउँपालिका औपचारिक रूपमा जिल्लाकै पहिलो साक्षर पालिका घोषित भएको छ। शनिबार ठोरी–३, शिकारीवासमा आयोजित एक विशेष समारोहमा गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले ठोरीलाई साक्षर पालिकाको रूपमा घोषणा गर्नुभएको हो। नेपाल सरकारद्वारा निर्धारण गरिएको मापदण्ड अनुसार १५ देखि ६० वर्ष उमेर समूहका कम्तीमा ९५ प्रतिशत व्यक्तिहरू साक्षर भएको आधारमा पालिकालाई साक्षर घोषणा गर्न सकिन्छ। सोही आधारमा ठोरी गाउँपालिका मधेस प्रदेशका १३६ पालिकामध्ये सातौँ र पर्सा जिल्लाका १४ पालिकामध्ये पहिलो साक्षर पालिका बन्न सफल भएको हो। साक्षरता घोषणासँगै सम्पन्न कार्यक्रमलाई थप अर्थपूर्ण बनाउन विविध सामाजिक र विकास निर्माणसम्बन्धी कार्यहरू पनि सञ्चालन गरिएका थिए। जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जनता आवास कार्यक्रम अन्तर्गत पाँचवटा घरको शिलान्यास, तटबन्ध निर्माण, र वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। त्यसै अवसरमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा वीरगन्जबाट आएका चिकित्सक टोलीले दर्जनौँ बिरामीहरूको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरेका थिए। साथै, केही नागरिकलाई नागरिकता वितरण, विद्यार्थीहरूलाई झोला र स्टेसनरी सामग्री, तथा १५ परिवारलाई सुधारिएको चुलो समेत वितरण गरिएको थियो। कार्यक्रम गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो भने जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन प्रसाद साह प्रमुख अतिथि र प्रमुख जिल्ला अधिकारी गणेश अर्याल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोकुल कुमारी रेग्मी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापा, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, स्वास्थ्य कार्यालय पर्साका प्रमुख विनोद झा, तथा नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दास लगायतको उपस्थिति रहेको थियो। शिक्षा प्रमुख भुपाल जोशीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण चिरञ्जीवी सापकोटाले गर्नुभएको थियो।