आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News एसपीसंग अभद्र व्यवहार, जसपा नेता अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी

एसपीसंग अभद्र व्यवहार, जसपा नेता अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी

156

राजु साह
असार २० , उत्सव खबर : जनता समाजवादी पार्टी ९जसपा० नेपालका मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध सर्लाही प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला प्रहरी कार्यालय, सर्लाहीले यादवविरुद्ध ‘अपराधिक उपद्रव’को अभियोगमा जाहेरी दर्ता गरेपछि शुक्रबार जिल्ला अदालत सर्लाहीबाट पक्राउ पुर्जी जारी भएको हो। पक्राउ पुर्जी जारी हुनुको कारण बिहीबार राति अध्यक्ष यादव र जिल्ला प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्काबीच टेलिफोनमा भएको भनिएको तीव्र वादविवाद हो। वादविवादका क्रममा यादवले एसपीलाई “लुटेरा” भन्दै गालीगलौज र धम्की दिएको प्रहरीको भनाइ छ। प्रहरी स्रोतका अनुसार, तस्करी नियन्त्रणमा सक्रिय सर्लाही प्रहरीले पछिल्लो समय कडाइ गरेपछि त्यसलाई लिएर राजनीतिक दबाब बढेको छ। यसै सन्दर्भमा यादवले ‘प्रहरीले निर्दोष नागरिकलाई झूठा मुद्दामा फसाउने र तस्करलाई जोगाउने’ भन्दै आक्रोश पोखेका थिए। प्रहरीले यादवमाथि गुण्डागर्दी शैलीमा धम्की दिएको, अश्लील शब्द प्रयोग गर्दै प्रहरीको मनोबल कमजोर पार्ने किसिमको व्यवहार देखाएको आरोप लगाएको छ। सर्लाहीका प्रमुख एसपी खड्काले आफूमाथि आएको धम्कीलाई गम्भीर रुपमा लिँदै कानुनी प्रक्रिया अघि बढाएको बताइएको छ। “कानून सबैका लागि बराबर हो,” प्रहरी स्रोतले भन्यो, “जो कोही भए पनि अपराधजन्य गतिविधिमा संलग्न भएको पाइए कानुनी कारबाही हुनेछ।” अहिले यादवको खोजी कार्य तीव्र पारिएको छ। उनलाई नियन्त्रणमा लिन प्रहरी परिचालित भइसकेको बताइएको छ।