आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News प्रतिनिधिसभा सांसद प्रभु शाहद्वारा निजामति सेवा विधेयक च्यात्दै विरोध प्रदर्शन

प्रतिनिधिसभा सांसद प्रभु शाहद्वारा निजामति सेवा विधेयक च्यात्दै विरोध प्रदर्शन

114

काठमाडौं, असार १५  उत्सव खबर— प्रतिनिधिसभाका सांसद प्रभु शाहले आइतबार संसदमा छलफलको क्रममा प्रस्तुत गरिएको निजामति सेवा विधेयक प्रति कडा आपत्ति जनाउँदै प्रत्यक्ष विरोध प्रदर्शन गरेका छन्। उनले विधेयकलाई “गरिब जनताको चीरहरण गर्ने” भन्दै रोष्ट्रममै विधेयकको कपी च्यातेर विरोध जनाएका हुन्। संसदमा विधेयकमाथि छलफल चलिरहेका बेला शाहले बोल्ने मौका पाउँदा आक्रोशित हुँदै भने, “यो विधेयक गरिब, निम्न वर्ग र स्थानीय तहका जनताको अधिकार कुण्ठित गर्ने प्रकारको छ। यस्तो विधेयक हामीले स्वीकार गर्न सक्दैनौं।”

उनको भनाइमा, विधेयकले समावेशीता र समान अवसरका सिद्धान्तलाई कमजोर बनाउने खतरा छ। खासगरी स्थानीय तहका जनताको पहुँचबाट संघीय निजामति सेवामा पहुँच पाउने अधिकार सिमित हुने प्रावधानप्रति उनले आपत्ति जनाएका थिए। सांसद शाहले बोल्दाबोल्दै विधेयकको दस्तावेज च्यात्दै, “जनताको अधिकारमाथि खेलवाड गर्न पाइँदैन,” भन्दै रोष्ट्रममै विधेयकका पानाहरू टुक्र्याएका थिए। शाहको यस्तो विरोधले संसदमा केही समय तनाबपूर्ण अवस्था सिर्जना भएको थियो। सभामुखले सांसदलाई संयमित हुन आग्रह गर्दै विधेयकमा सहमतिबाटै निर्णय हुने बताए। सांसद शाह पूर्वमन्त्रीसमेत रहिसकेका अनुभवी नेता हुन्। उनले विगतमा पनि केही विधेयकप्रति कडा प्रतिवाद जनाउँदै जनताको पक्षमा खुलेर बोलेका छन्। निजामति सेवा विधेयक हाल संसदको विषय सूचीमा रहेकाले आगामी बैठकहरूमा थप छलफलपछि निर्णय गरिने बताइएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले प्रतिनिधि सभा बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।