उत्सव खबर, १ असार।
औषधि व्यवस्था विभागले पर्साको वीरगञ्ज महानगरपालिका–४ मा रहेको शुभलाभ फार्मालिंकले भारतबाट आयात गरेको औषधि बिक्रीमा प्रतिबन्ध लगाएको छ। विभागको बजार अनुगमनको क्रममा उक्त फार्मेसीले बिक्री गर्दै आएको एक इन्जेक्सन गुणस्तरहीन पाइएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो।
विभागका अनुसार शुभलाभ फार्मालिंकले भारतको मुम्बईस्थित एग्लोमेड लिमिटेडबाट आयात गरेको ब्याच नम्बर N192403 को सेफिट्रिएक्सोन इन्जेक्शन न्यून गुणस्तरको भेटिएको हो। सो औषधि औषधि ऐन, २०३५ को दफा १४ अनुसार गुणस्तर नपुगेको ठहर गर्दै त्यसको बिक्री तथा वितरणमा तुरुन्त रोक लगाइएको विभागले जनाएको छ।
विभागले औषधि बजारबाट तुरुन्त फिर्ता गरी त्यससम्बन्धी विवरण पेस गर्न शुभलाभ फार्मालिंकलाई निर्देशन दिएको छ। साथै, सो औषधिको सिफारिस, बिक्री, वितरण र प्रयोग नगर्न स्वास्थ्य सेवा प्रदायक तथा फार्मेसीहरूलाई आग्रह गरिएको छ।
सेफिट्रिएक्सोन इन्जेक्शन एन्टिबायोटिक औषधिको रूपमा गम्भीर संक्रमणहरू उपचारमा प्रयोग गरिन्छ। यस्तो औषधिमा गुणस्तरको कमी हुँदा बिरामीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले विभागले विशेष सतर्कता अपनाएको हो।
औषधि व्यवस्था विभागले यस्ता गुणस्तरहीन औषधिको प्रयोगबाट सर्वसाधारणलाई जोगाउन निरन्तर अनुगमन जारी राख्ने जनाएको छ। साथै, सार्वजनिक स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने औषधि बिक्रीमा कुनै पनि प्रकारको लापरवाही हुन नदिन विभागले चेतावनी पनि दिएको छ।