वीरगञ्ज, ०१ असार।
उत्सव खबर:
सामाजिक सुरक्षा भत्ता वितरणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके नरैनापुर गाउँ विकास समितिका तत्कालीन अध्यक्षसहित १७ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। आयोगले दिएको जानकारीअनुसार, नरैनापुर गाउँ विकास समितिका तत्कालीन अध्यक्ष अजयकुमार श्रीवास्तव, सचिवद्वय सावित राम कुर्मी र अशोक कुमार श्रीवास्तवसहित १७ जनाले भत्ता वितरण प्रक्रियामा अनियमितता गरी सरकारलाई आर्थिक हानि पुर्याएको पाइएपछि भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
उनीहरूलाई सामाजिक सुरक्षा भत्ताका नाममा ६ लाख ५६ हजार ७०० रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ। अनुसन्धानका क्रममा मृतक, दोहोरो नाम भएका लाभग्राही र अपात्र व्यक्तिहरूको नाममा भत्ता निकासा भएको पाइएको आयोगले जनाएको छ। आयोगका अनुसार, सार्वजनिक कोषको दुरुपयोग गरी व्यक्तिगत लाभ लिन खोज्नु गम्भीर भ्रष्टाचारको रूप हो र त्यसप्रति कुनै सम्झौता नहुने नीति अनुरूप नै कारबाही प्रक्रिया अघि बढाइएको हो।
अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सामाजिक सुरक्षा भत्ता वितरणमा गाविस सचिव र मुखियाको मिलेमतो गरी नियम विपरीत भत्ता वितरण गरेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान हुँदा साविक नरैनापुर गाउँ विकास समितिका तत्कालीन अध्यक्ष श्रीवास्तवसमेत १७ जनाको मिलेमतोमा सामाजिक सुरक्षा भत्ता वितरणमा हिनामिना गरेको खुल्न आएको अख्तियारको दावी छ।सामाजिक सुरक्षा भत्ता वितरण गर्दा आर्थिक वर्ष २०५७र०५८ देखि २०७२र०७३ सम्म सामाजिक सुरक्षा भत्ता पाउन उमेर नपुगेका १९ जनालाई व्यक्तिलाई नागरिकतामा उल्लेखित जन्ममिति र नागरिकता जारी मिति अन्देखा गरी ज्येष्ठ नागरिक तथा दलित ज्येष्ठ नागरिकको रुपमा नागरिकताको प्रमाणपत्र नभएको व्यक्तिलाई एकल महिलाको रुपमा र भारतमा विवाह गरी गएका महिलालाई एक महिलाको रुपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको उनीहरूमाथि आरोप छ। सामाजिक सुरक्षा भत्ता बुझ्ने व्यक्तिलाई समेत प्रतिवादी बनाइएको छ। साहजिमा खातुन,अवधराम बढही,राम जिवन पासी, मनोरानी अहिरनी,रामचन्द्र धोबी,लायसरीफ खाँ, मोमिना पठानीन, हामिया पठानीन, नन्कौ मुराउ, जंगली कडरिया,हरीराम अहिर र बारि खाँ,मोति भुजुवा र सन्तराम बडहीलाई प्रतिवादी बनाइ आरोप पत्र दायर भएको हो। उनीहरूविरुद्ध ६ लाख ५६ हजार ७०० रुपैयाँ बिगो,सजाय र कैद माग गरिएको छ।