उत्सव खबर
जेठ २८, २०८२ वीरगंजः काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यमा ठेक्कासम्बन्धी प्रक्रिया र कार्यान्वयनमा अनियमितता भएको ठहर गर्दै उनीहरूविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो। परियार हाल सूचना तथा प्रशारण विभागको महानिर्देशक छन् । उनीसँगै मुद्दा दायर हुनेहरूमा बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहाल रहेका छन् । उक्त ठेक्का प्रक्रियामा समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३ सय २५ रुपैयाँ ६३ पैसा कबोल गरेको थियो भने कल्पवृक्ष कोहिनूर जेभीले २२ करोड ४० लाख ९४ हजार ६ सय १२ रुपैयाँ ९५ पैसा कबोल गरेको थियो । उक्त प्रक्रियामा चार करोड ३१ लाख ७२ हजार २ सय ३७ रुपैयाँ ३२ पैसा दुरुपयोग गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । कम कबोल गरेको समानान्तर निर्माण सेवा प्रालिलाई उक्त ठेक्का नदिइ कल्पवृक्षलाई दिएको भन्दै उजुरी परेको थियो । अख्तियारले भ्रष्टाचारविरुद्ध कडा निगरानी राख्ने र सार्वजनिक सेवा प्रणालीमा पारदर्शिता कायम गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ। यस घटनाले स्थानीय सरकार तथा महानगरका विकास निर्माण योजनामा देखिएको कमजोरीप्रति गम्भीर प्रश्न उठाएको छ।
136