जेठ २७, मंगलवार वीरगंज— प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले आमाको नामबाट नागरिकता दिने व्यवस्था रहेको विधेयक पारित गरेको छ।
सरकारले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न ल्याएको विधेयक मंगलबार समितिबाट सर्वसम्मत रूपमा पारित भएको हो। समिति सभापति रामहरि खतिवडाका अनुसार अब नागरिकता प्राप्त गर्न बाबुको पहिचान अनिवार्य नहुने, आमाको नामबाट पनि नागरिकता लिन सकिने व्यवस्था विधेयकमा समेटिएको छ।
यस विधेयकले नागरिकता प्राप्त गर्न आमाको स्वघोषणा आवश्यक पर्ने प्रावधान राखेको छ। यदि स्वघोषणा गलत ठहरिएमा एक वर्षसम्म कैद तथा जरिवाना को व्यवस्था गरिएको छ।
सरकारले नागरिकता सम्बन्धी कानूनी जटिलता हटाउन यो विधेयक ल्याएको हो। गृहमन्त्री रमेश लेखकले नागरिकता सम्बन्धी व्यवस्थालाई संवैधानिक रूपमा कार्यान्वयन गर्न विधेयकले थप सहजीकरण गर्ने बताएका छन्।
अब यो विधेयक प्रतिनिधिसभाको पूर्ण बैठकमा छलफल गरी पारित भएपछि कानूनका रूपमा कार्यान्वयन हुनेछ।