जेठ २४ गते शनिवार, वीरगंजः नेपाल संवतका प्रवर्तक तथा राष्ट्रिय विभूति शङ्खधर साख्वाको नाममा निर्माण भएको शङ्खधर साख्वा पार्क शनिबार साँझ वीरगंजमा भव्यताका साथ उदघाटन गरिएको छ। वीरगंजकोे हरि खेतान क्याम्पस अगाडि निर्माण भएको पार्कको उद्घाटन सांसद तथा खानेपानी मन्त्री प्रदीप यादव, वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह तथा अन्य विशिष्ट व्यक्तित्वहरूको संयुक्त उपस्थितिमा वेलुन उडाएर पार्कको उदघाटन गरिएको हो। उद्घाटन समारोह साँझ ६ः३० बजे भनिएपनि एक घण्टा ढिला भई ७ः३० बजे सुरु भएको थियो, जसमा स्थानीयवासी, आमन्त्रित सरोकारवाला व्यक्ति, सञ्चारकर्मी साथी, महानगरका प्रहरी तथा कर्मचारी, एवं नवविर्मित शङ्खधर साख्वा स्मृति प्रतिष्ठानका सदस्यहरू लगायत विशिष्ट नागरिकहरूको उल्लेखनीय रुपमा उपस्थिति रहेको थियो। वीरगंजमा यस्ता सार्वजनिक स्थलहरूको विकासले सामाजिक, सांस्कृतिक तथा पर्यटनको क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने वक्ताहरुको भनाई रहेको थियो । मेयर सिंहले आगामी दिनमा यस्ता थप स्थानहरूको निर्माण गरी वीरगंजलाई सुन्दर नगर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। पार्कमा हरियाली क्षेत्र, विश्रामस्थल, बालबालिकाका लागि खेलकुदका क्षेत्र, तथा रातिको समयमा पर्याप्त उज्यालोको व्यवस्था जस्ता सुविधाहरू समावेश गरिएको छ। खुला स्थानको अभाव भइरहेका बेला यो पार्क स्थानीयवासीका लागि विश्रामको महत्वपूर्ण गन्तव्य बन्ने विश्वास लिइएको छ। पार्क भोलि आइतबार जेठ २५ गते देखि सर्वसाधारणका लागि खुला हुने भनिएको छ।