रौतहट , २१ बैशाख — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्ला अदालत, गौरमा कार्यरत एक कर्मचारीविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरेको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिअनुसार अदालतको तहसिल शाखामा कार्यरत डिठ्ठा लवकुमार सिंहले जग्गा फुकुवा गरिदिने प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो।
उक्त उजुरीका आधारमा आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले सिंहलाई सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ। प्रारम्भिक अनुसन्धानले उनले सेवाग्राहीलाई विभिन्न बहाना बनाई दुःख हैरानी दिँदै बार्गेनिङमार्फत रकम असुलेको पुष्टि भएको आयोगको भनाइ छ।
आयोगले सिंहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मुद्दा दायर गर्दै ५० हजार रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवानाको मागदाबी गरेको छ। सो आरोपपत्र विशेष अदालत, काठमाडौंमा दायर गरिएको आयोगले जनाएको छ।