काठमाडौँ, १९ बैशाख – त्रिभुवन विश्वविद्यालयले लामो समयदेखि अव्यवस्थित बनेको शैक्षिक पात्रोलाई पुनः व्यवस्थित बनाउन तीव्र गतिमा परीक्षा सञ्चालन गरिरहेको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार हाल अनियमित रहेका परीक्षाहरूलाई समेट्न महिनामै तीनदेखि चार प्रकारका परीक्षा सञ्चालन भइरहेका छन्।
परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले जानकारी दिँदै भने, विगतका रोकिएका तथा ढिलाइ भएका परीक्षालाई समयमै सम्पन्न गर्ने उद्देश्यले काम भइरहेको छ। उनका अनुसार २०५३ सालदेखि रोकिएका ‘मौका परीक्षा’ समेत आगामी असार महिनाभित्र सक्ने योजना रहेको छ।
हाल वैशाख महिनामा मात्र चार फरक तहका परीक्षा सञ्चालन भइरहेका छन्। यसअन्तर्गत स्नातक तहको बिएएलएलबी दोस्रो वर्ष, नियमित दोस्रो वर्ष, वि.टेक पहिलो र दोस्रो वर्षका परीक्षा सञ्चालनमा छन्।
कार्यालयले असार महिनासम्म सबै बाँकी परीक्षा सम्पन्न गरेर आगामी साउनदेखि नियमित शैक्षिक पात्रोअनुसार परीक्षा सञ्चालन गर्ने लक्ष्य राखेको छ। जेठ महिनाका लागि तीनवर्षे र चारवर्षे स्नातक तहको पहिलो वर्ष, बिएएलएलबी तेस्रो वर्ष तथा वि.टेक तेस्रो वर्षको परीक्षा तालिका समेत सार्वजनिक भइसकेको छ।
त्यस्तै, असार महिनामा स्नातक तहका सबै सङ्कायको चौथो वर्षको नियमित परीक्षा सञ्चालन गर्ने तयारी गरिएको छ। कोरोना महामारी र विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका परीक्षालाई यस अवधिमा समेटेर अब नियमित प्रणालीमा फर्कने योजना रहेको कार्यालयले जनाएको छ।
हाल सञ्चालन भइरहेका परीक्षामा करिब एक लाख १५ हजार विद्यार्थी सहभागी भएका छन्। यसैबीच, परीक्षा नियन्त्रण कार्यालयले परीक्षाफल प्रकाशनलाई पनि छिटो बनाएको छ। अब परीक्षा सम्पन्न भएको करिब सय दिनभित्र नतिजा सार्वजनिक गर्ने व्यवस्था लागू गरिएको परीक्षा नियन्त्रक पौडेलले बताएका छन्।