आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News नयाँ प्रधानमन्त्रीको शपथ आज, बालेन्द्र शाह नेतृत्वमा एकल सरकार गठन

नयाँ प्रधानमन्त्रीको शपथ आज, बालेन्द्र शाह नेतृत्वमा एकल सरकार गठन

88

काठमाडौं, १३ चैत २०८२ — आज रास्वपाको लागि एतिहासिक दिन रहेको छ । देशले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो १२:३४ बजे राष्ट्रपतिबाट राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम तय गरिएको छ।

राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण अघि नेता शाहलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ। नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल बहुमतको आधारमा नयाँ सरकार गठन हुन लागेको हो।

शपथ ग्रहण समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेता, काठमाडौंस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ। प्रधानमन्त्रीसँगै मन्त्रीपरिषद् सदस्यहरूको पनि शपथ गराइने कार्यक्रम रहेको बुझिएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको थियो। सोही आधारमा बिहीबार बसेको संसदीय दलको बैठकले बालेन्द्र शाहलाई दलको नेता चयन गरेको थियो।

निर्वाचनमा शाह झापा क्षेत्र नं. ५ बाट ६८ हजार ३ सय ४८ मत प्राप्त गर्दै विजयी भएका थिए। यसअघि बिहीबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनियताको शपथ गराइसकेका छन्।

नयाँ प्रधानमन्त्रीको शपथसँगै देशमा नयाँ सरकारको औपचारिक सुरुआत हुने भएको छ।