काठमाडौँ, १ चैत – धनुषा क्षेत्र न. १ को प्रतिनिधि सभा निर्वाचन विवादमा सर्वोच्च अदालतले आज सुनुवाइ गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साहले दायर गरेका दुई छुट्टाछुट्टै रिटलाई एकैसाथ राखेर सुनुवाइ गर्न लागिएको हो।
साहले आफ्नो उम्मेदवारी खारेज गरिएको निर्णय र नेकपाका उम्मेदवार मातृका यादवलाई विजयी घोषणा गरिएको विषयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। निर्वाचन आयोगले साह कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै मतदान हुनुभन्दा दुई दिनअघि उनको उम्मेदवारी रद्द गरेको थियो।
उम्मेदवारी रद्द भए पनि समय अभावका कारण मतपत्रमा साहको चुनाव चिह्न यथावत राखेर मतदान गराइएको थियो। मतगणनामा भने साहले सबैभन्दा धेरै मत प्राप्त गरेका थिए।
तर आयोगले उम्मेदवारी रद्द गर्ने निर्णय कायम राख्दै दोस्रो स्थानमा रहेका नेकपाका मातृका यादवलाई विजयी भएको प्रमाणपत्र दिएको थियो। सोही निर्णयविरुद्ध साह सर्वोच्च पुगेका हुन्।