ललितपुर, २०८२ फागुन ६ — धादिङ जिल्लाबाट तरकारीका खाली क्रेट बोकी हेटौडातर्फ जाँदै गरेको एक सवारी साधनबाट १ सय ५३ केजी लागूऔषध बरामद गरिएको छ।
प्रहरीका अनुसार ना. ३ च. ४०५ नम्बरको हात्ती गाडी सातदोबाटो हुँदै कान्तिलोकपथतर्फ जाँदै गरेको अवस्थामा दैनिक चेकजाँचका क्रममा फागुन ६ गते बिहान ८:४० बजे बागमती गाउँपालिका–३, छपेलीस्थित प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको टोलीले जाँच गरेको थियो।
जाँचका क्रममा गाडीमा शंकास्पद रूपमा ‘फल्स बटम’ बनाइएको भेटिएपछि प्रहरीले चालकसँग सोधपुछ गरेको थियो। सोही क्रममा चालक एक्कासी भागेर जंगलतर्फ फरार भएका थिए। प्रहरी टोलीले घेराबन्दी गरी करिब १२ किलोमिटर टाढा बागमती गाउँपालिका–२, बगुवा जंगल क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
गाडी पुनः जाँच गर्दा फल्स बटम बनाई लुकाइछिपाइ राखिएको अवस्थामा १५ पोका बराबर १ सय ५३ केजी लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–७ घर भई हाल हेटौडामा बस्दै आएका २८ वर्षीय नगेन्द्र श्रेष्ठ रहेका छन्।
बरामद गरिएको लागूऔषध र सवारी साधन नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।