काठमाडौं, फागुन ३ — अमेरिकी सेनाको हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) क्षेत्रकाका कमान्डर, तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। उनी १३ सदस्यीय प्रतिनिधिमण्डलसहित अमेरिकी एयरफोर्सको चार्टर विमानमार्फत हिजो राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
नेपाली सेनाले उक्त भ्रमणलाई नियमित तथा द्विपक्षीय सैन्य सहकार्यको निरन्तरता स्वरूप भएको जनाएको छ। नेपाल बसाइका क्रममा कमान्डर पापारोले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसहित उच्च सरकारी तथा सैनिक अधिकारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
भेटवार्तामा क्षेत्रीय सुरक्षा अवस्था, सैन्य तालिम तथा क्षमता अभिवृद्धि, शान्ति स्थापना कार्यमा सहकार्य लगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ। नेपाल र अमेरिकाबीच लामो समयदेखि सैनिक तालिम, मानवीय सहायता तथा विपद् व्यवस्थापनमा सहकार्य हुँदै आएको छ।
यसै क्रममा पापारोले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको पनि भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ। उक्त केन्द्र संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनका लागि नेपाली सैनिकलाई तालिम दिने प्रमुख संस्था हो।
उनको भ्रमणलाई नेपाल–अमेरिका सैन्य सम्बन्ध सुदृढ पार्ने अवसरका रूपमा हेरिएको छ।