आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News ८२६ किलोभन्दा बढी गाँजा र ट्र्याक्टरसहित ९ जना पक्राउ

८२६ किलोभन्दा बढी गाँजा र ट्र्याक्टरसहित ९ जना पक्राउ

73

भोजपुर, माघ १६।
भोजपुर जिल्लाको हतुवागढी गाउँपालिका–९ मचुवा क्षेत्रबाट ठूलो परिमाणको लागूऔषध गाँजासहित ट्र्याक्टर र ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार माघ १५ गते बिहान प्रहरी चौकी हसनपुर, भोजपुरबाट खटिएको प्रहरी टोलीले मचुवाबाट धनकुटाको अखुवाटारतर्फ जाँदै गरेको ना ७ त ३५० नम्बरको ट्र्याक्टरलाई शंका लागी चेकजाँच गरेको थियो। जाँचका क्रममा ट्र्याक्टरको डिक्कीभित्र ४३ वटा बोरामा राखिएको जम्मा ८२६ किलो ६६० ग्राम लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

उक्त घटनामा संलग्न रहेको आरोपमा भोजपुरको आमचोक गाउँपालिका–९ का रुद्रबहादुर श्रेष्ठ, निशान मगर र नीरबहादुर श्रेष्ठ, धनकुटाको सहिदभूमि गाउँपालिका–२ का सुदिप पुर्कुटी, निलकुमार मगर, किशोर बिसुन्के, बिर्खबहादुर बिसुन्के र दिपकुमार बिसुन्के तथा ताप्लेजुङको मिरिङ्डेन गाउँपालिका–६ का लाक्पा शेर्पालाई पक्राउ गरिएको छ।

पक्राउ परेकाहरूसँगै गाँजा बोकेको ट्र्याक्टर पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ।