काठमाडौँ, २ पुष – पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–६ स्थित एक कब्रस्थानबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा विद्युतीय चुरोट (भेप) बरामद गरेको छ।
नेपालबाट अवैध रूपमा भारततर्फ लैजाने उद्देश्यले परालको कुन्युमा लुकाएर राखिएको अवस्थामा सशस्त्र प्रहरी बलले उक्त भेप फेला पारेको हो। सशस्त्र प्रहरी बल नम्बर २६ गण पश्चिम नवलपरासी तथा सीमा सुरक्षा गुल्म हरपुरबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा खोजतलास गर्दा कब्रस्थानमा लुकाइराखिएको भेप बरामद गरेको जनाएको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार बरामद गरिएको भेपको मात्रा ९ कार्टुन रहेको छ, जसको अनुमानित बजार मूल्य करिब ४५ लाख रुपैयाँ बराबर रहेको छ।
घटनास्थलबाट कुनै व्यक्ति पक्राउ नपरे पनि अवैध ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएको भेप आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइने तयारी भइरहेको बताइएको छ।