आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News मधेस प्रदेशमा मुख्यमन्त्री यादवद्वारा मन्त्रिपरिषद् विस्तार, थपिएदुई नयाँ मन्त्री

मधेस प्रदेशमा मुख्यमन्त्री यादवद्वारा मन्त्रिपरिषद् विस्तार, थपिएदुई नयाँ मन्त्री

123

मधेस प्रदेश, २९ मङ्सिर- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री यादवको सिफारिसमा नियुक्त दुई नयाँ मन्त्रीले सोमबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण ज्यू बाट पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन्।

सोमबार साँझ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालकी रानी कुमारी तिवारीले शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारीसहित शपथ लिएकी छन् भने नेकपा (माओवादी केन्द्र) का जवाहरलाल कुश्वाहाले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

यसैगरी, यसअघि बिना विभागीय मन्त्रीको रूपमा रहेका नेपाली काँग्रेसका जंगिलाल रायलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ। नेकपा (एकीकृत समाजवादी) का कनिष पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ। जनमत पार्टीका महेशप्रसाद यादवले भने यसअघि नै अर्थ मन्त्रालय सम्हालिरहेका छन्।

दुई मन्त्री थपिएसँगै मुख्यमन्त्री यादव नेतृत्वको मन्त्रिपरिषद् ६ सदस्यीय भएको छ। हाल मधेस प्रदेश सरकारमा नेपाली काँग्रेसबाट मुख्यमन्त्रीसहित दुई जना मन्त्री सहभागी छन् भने नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा (माओवादी केन्द्र) बाट एक–एक जना मन्त्री सहभागी रहेका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालबाट भने अहिलेसम्म कोही पनि सरकारमा सामेल भएका छैनन्।