पोखरिया नपाका मेयर चौहानसँग अख्तियारको बयान – घुसकाण्डमा ५७७ कर्मचारी नियुक्तिको आरोप
११ श्रावन, वीरगंज: पोखरिया नगरपालिकामा अनधिकृत रूपमा घुस लिएर कर्मचारी नियुक्ति गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर प्रद्युमन चौहानसँग बयान लिएको छ।
सूत्रका अनुसार मेयर चौहान सोमबार प्रधानमन्त्रीसँग भेट गर्न काठमाडौं पुगेका थिए। भेटपछि मङ्गलबार कार्यालय समयमा अख्तियारले फोनमार्फत बोलाएर बयान लिएको हो। यसअघि आयोगले प्रमुख प्रशासकीय अधिकृतमार्फत अन्य सम्बन्धित व्यक्तिहरूको बयान लिएको भए पनि मेयर चौहानका लागि विशेष व्यवस्था गरिएको बताइन्छ।
पोखरिया नगरपालिकामा ५७७ जना कर्मचारी नियुक्त गर्ने क्रममा मेयरका आफन्त, प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरूले सर्वसाधारणबाट १ लाखदेखि ३ लाख रुपैयाँसम्म असुली गरेको आरोप लागेको छ। यसै विषयमा असार ६ गते आयोगले छापा मार्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव र जिन्सी, प्रशासन तथा इन्धन वितरण शाखाका नायब सुब्बा सन्दिप साहलाई नियन्त्रणमा लिएको थियो।