१० श्रावन, उत्सव खबर:
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल, लुम्बिनी प्रदेश समितिले अध्यक्ष सुरज खरेललाई संगठनका सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त गर्दै एक वर्षका लागि निलम्बन गरेको छ।
प्रदेश महासचिव महेश चौलागाईंको हस्ताक्षरमा जारी विज्ञप्तिमा खरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका पक्षमा खुलेर मत राख्नुका साथै १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष मण्डलका सदस्यहरूमाथि दुर्व्यवहार, प्रतिनिधिहरूलाई धम्की, पार्टी नेतृत्वविरुद्ध सामाजिक सञ्जालमा लाञ्छना र मानहानि गर्ने जस्ता गतिविधिबाट संगठनको अनुशासन उल्लंघन गरेको आरोप लगाइएको छ।
पत्रमा भनिएको छ, “तपाईंलाई तीन दिनभित्र भौतिक रूपमा उपस्थित भई स्पष्टीकरण दिन निर्देशन दिइए पनि सो गर्नुभएको छैन। बरु संगठन र नेतृत्वलाई अवमूल्यन गर्ने गैरजिम्मेवार र अराजक जवाफ पठाउनु भएको छ।”
युवा संघले खरेलले केन्द्रको निर्देशन अवज्ञा गर्दै प्रदेश कमिटीको सचिवालय बैठक आयोजना गरेको र संगठनात्मक सिद्धान्तविपरीत स्वेच्छाचारी र अहंकारी गतिविधि गर्दै संगठनको मूल्य र अनुशासनमा गम्भीर चोट पुर्याएको आरोप लगाएको छ।
यसअघि खरेललाई सचेत गराउने प्रयत्न भएको तर उनले सकारात्मक प्रतिक्रिया नदिएको युवा संघको भनाइ छ। संघको पदाधिकारी बैठकले २०६२ साउन ९ गतेको निर्णय तथा विधान २०४७ (संशोधित) को धारा ४१ र ४२ ९क० र (ख) अनुसार खरेललाई आजको मितिबाट लागु हुनेगरी एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको हो।