आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News वीरगञ्ज भन्सार कार्यालयमा सुक्खा बन्दरगाह भन्सार औपचारिक रूपमा गाभिया, एकीकृत सेवा सुरु

वीरगञ्ज भन्सार कार्यालयमा सुक्खा बन्दरगाह भन्सार औपचारिक रूपमा गाभिया, एकीकृत सेवा सुरु

116

वीरगञ्ज, साउन १ — वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई औपचारिक रूपमा वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ। संघीय सरकारको निर्णयअनुसार साउन १ गतेदेखि दुवै भन्सार कार्यालय एकीकृत गरी वीरगञ्ज भन्सार कार्यालयको नाममा सेवा प्रवाह सुरु गरिएको हो। यसअघि एकीकृत जाँच चौकी (आईसीपी)  र सुक्खा बन्दरगाह भन्सार कार्यालय छुट्टाछुट्टै रूपमा सञ्चालनमा थिए। आईसीपीमार्फत सडक यातायातद्वारा वस्तु आयात–निर्यात हुँदै आएको थियो भने सुक्खा बन्दरगाहले रेलमार्ग प्रयोग गरी सामानको आयात–निर्यातको काम गर्दै आएको थियो। भन्सार प्रशासक दीपक लामिछानेका अनुसार, मन्त्रिपरिषद्को २०७६ पुसको निर्णय कार्यान्वयन गर्दै यो एकीकरण गरिएको हो। “एउटै नाकामा तीन वटा भन्सार सञ्चालन गर्नु उपयुक्त नहुने निष्कर्षसहित सरकारले सुक्खा बन्दरगाहलाई वीरगञ्ज भन्सार मातहत ल्याउने निर्णय गरेको हो,” लामिछानेले जानकारी दिए। साथै, मितेरी पुल–रक्सौल नाका यात्रु शाखामा सीमित गरिने सरकारको नीति रहेको उनले बताए। सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालका अनुसार भन्सार विभागको पत्राचारअनुसार साउन १ गतेदेखि सुक्खा बन्दरगाह भन्सार खारेज गरिएको र आईसीपीमार्फत एकीकृत सेवा सुरु गरिएको हो। “विदेशीसँगको व्यापार थप सहज बनाउन दुवै भन्सार गाभिएको हो,” उनले भने।

गत आर्थिक वर्ष २०८१र८२ मा सुक्खा बन्दरगाह भन्सार कार्यालयले ४९ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। भन्सार एकीकरणपछि व्यापार सहजीकरणका लागि सहसचिवको नेतृत्वमा ३ जना उपसचिव खटाइने भएका छन्। वीरगञ्ज भन्सारमा सहसचिव स्तरको दरबन्दी तोकिएको सात वर्षपछि मात्र यो निर्णय कार्यान्वयनमा आएको हो।  यद्यपि, आईसीपी र सुक्खा बन्दरगाहबीचको ६२ बिगाहा क्षेत्रफलको जग्गा अधिग्रहणको प्रक्रिया भने अझै अन्योलमै छ। स्ववासी जग्गा तथा संरचनाको मूल्याङ्कन नमिल्दा मुआब्जा विवाद समाधान हुन सकेको छैन, र यो प्रक्रिया करिब ८ वर्षदेखि अलमलमा परेको छ। सरकार र सरोकारवालाहरूले यो एकीकरणले वैदेशिक व्यापारलाई थप सहज, प्रभावकारी र व्यवस्थित बनाउने विश्वास व्यक्त गरेका छन्।