३१ असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घुस लिएको आरोपपछि राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पदबाट राजीनामा दिएको जानकारी गराएका हुन्। उनले लेखेका छन्, ‘विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई बिदितै छ । कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजिनामा गरेको छु ।’
राजकुमार गुप्ताले आफूमाथि लागेका आरोपको निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले राजीनामा दिएको उल्लेख गरेका छन्। अडियो सार्वजनिक भएपछि बढ्दो दबाबका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएका थिए। अडियोमा मन्त्री गुप्ता भूमि आयोगको अध्यक्ष नियुक्ति र मालपोत कार्यालयमा सहयोगु मागेको भन्दै आलोचना भइरहेको छ। उनी २०८१ असार ३१ गते मन्त्री नियुक्त भएका थिए र ठीक एक वर्षपछि राजीनामा दिएका हुन्। गुप्ता नेकपा एमालेबाट पर्सा(३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। विपक्षी दलले उनको राजीनामा मात्र होइन, कानुनी कारबाहीको माग समेत गरेका छन्।