असार ८, उत्सव खबर: बाराको पचरौता नगरपालिकामा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादवसहित दुईजनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आइतबार ९असार ७० यादवसहित केएस मल्टिपर्पस प्रालिका सञ्चालक कमल कुमार उपाध्यायलाई जनही ६–६ महिना कैद र एक लाख १७ हजार रुपैयाँभन्दा बढी जरिवाना गर्ने फैसला गरेको हो।
यससँगै, उनीहरूकै मिलेमतोमा भ्रष्टाचारमा संलग्न रहेको ठहर गर्दै केएस मल्टिपर्पस प्रालिलाई पनि दोषी ठहर गरिएको छ। तीनैजना प्रतिवादीले पीडित राहत कोषमा ४ हजार ७ सय रुपैयाँ पनि बुझाउनुपर्ने आदेश अदालतले दिएको छ।
तीनैजना प्रतिवादीबाट बिगोको दामासाहीले हुन आउने रकम एक लाख १७ हजारभन्दा बढी जरिवाना तिर्नुपर्ने फैसलामा छ । साथै पीडित राहत कोषमा तीनै जनाबाट ४७ सय रुपैयाँ भराउन फैसला भएको विशेषले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यहि ९ वैशाखमा मुद्दा दायर गरेको थियो । यादव, उपाध्याय र कम्पनीका साथै लेखापाल हसिम मियाँसमेत प्रतिवादी रहेकोमा मियाँले सफाइ पाएका छन् । उनीविरुद्धको अभियोग ठोस प्रमाणबाट पुष्टि नभएको तथा हाकिमको तोक आदेशबमोजिम काम गरेकोले दोषी ठहर गर्न नमिल्ने फैसलामा छ ।
उक्त नगरपालिकाले सार्वजनिक खरिद ऐनलाई छलेर केएस मल्टिपर्पसका सञ्चालक उपाध्याय समेतको मिलेमतोमा भ्रष्टाचार गरेको ठहर विशेषले गरेको हो । ठेक्काको अभिलेख राख्ने प्रयोजनका लागि मात्र भनी प्रभाव दैनिकमा एक प्रति मात्र बोलपत्र आह्वानको सूचना प्रकाशित गरेर त्यसको आधारमा भुक्तानी गरेको भेटिएको थियो ।